काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह र सामाजिक सञ्जालमार्फत चर्चित भिक्टर पौडेल बीचको सम्बन्धमा पछिल्लो समय दरार आएको संकेत देखिएको छ। लामो समयसम्म सहकार्यमा रहेका यी दुईबीच अहिले दूरी बढ्दै गएको चर्चा सार्वजनिक रूपमा हुन थालेको हो।
‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजमार्फत बालेनको छवि निर्माणमा सक्रिय भूमिका खेलेका भिक्टरले पछिल्लो समय आफ्नो प्रस्तुति परिवर्तन गर्ने संकेत दिएका छन्। उनले अब एकपक्षीय समर्थनभन्दा बाहिर निस्केर ‘गुण र दोष’ दुवैका आधारमा सामग्री प्रस्तुत गर्ने बताएका छन्, जसलाई सम्बन्ध परिवर्तनको संकेतका रूपमा हेरिएको छ। स्रोतका अनुसार फागुन महिनातिर भएको एउटा घटनापछि दुवैबीच मतभेद सुरु भएको हो। झापामा रहँदा केही व्यक्तिसँग भेटघाटको विषयमा असहमतिका कारण सम्बन्धमा चिसोपन आएको बताइन्छ। त्यसयता उनीहरूबीचको समन्वय कमजोर बन्दै गएको देखिएको छ।
बालेनको राजनीतिक उभारमा सामाजिक सञ्जालको प्रभाव महत्वपूर्ण रहँदा भिक्टरको भूमिका पनि उल्लेखनीय थियो। तर पछिल्ला गतिविधिले त्यो सहकार्य अब पुरानै अवस्थामा नरहेको संकेत दिएका छन्। यसैबीच, जेनजी आन्दोलनका क्रममा भिक्टरको नाम चर्चामा आएपछि उनी केही समय विदेश बसाइमा रहेको र हाल पनि आवतजावत जारी रहेको बताइन्छ। विश्लेषकहरूका अनुसार डिजिटल प्लेटफर्ममार्फत बनेका राजनीतिक सम्बन्धहरू परिस्थितिअनुसार परिवर्तन हुन सक्ने भएकाले बालेन–भिक्टर सम्बन्धमा आएको बदलावलाई त्यसै सन्दर्भमा बुझ्नुपर्ने देखिन्छ।




