काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव नेपाली बजारमा देखिँदै सुन तथा चाँदीको मूल्य निरन्तर घट्दो क्रममा पुगेको छ। सोमबार छापावाल सुनको भाउ तोलामा उल्लेखनीय गिरावटसहित २ लाख ७५ हजार ५०० रुपैयाँमा झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो। प्रति १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ३६ हजार १९५ रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबारसम्म आइपुग्दा मूल्य २ लाख ९४ हजार ५०० रुपैयाँसम्म पुगेको थियो। पछिल्ला दिनमा निरन्तर गिरावट देखिनुले बजारमा अस्थिरता झल्किएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव, विशेषगरी पश्चिम एसियाको तनाव, बहुमूल्य धातुको मूल्यमा उतारचढाव ल्याइरहेको छ।




