देश

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइप्रति कांग्रेसको आपत्ति

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै नेपाली कांग्रेसले सरकारसँग तत्काल सार्वजनिक गर्न माग गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले प्रतिवेदन लुकाएर राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले कांग्रेसको केन्द्रीय कार्यसमितिले समेत प्रतिवेदन सार्वजनिक गर्न औपचारिक निर्णय गरिसकेको उल्लेख गरे। “सरकारले यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,” उनले आग्रह गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठन गरिएको आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको थियो। तर, मन्त्रिपरिषद्ले चैत १ गते प्रतिवेदन ग्रहण गर्ने निर्णय गरे पनि अहिलेसम्म सार्वजनिक नगर्दा विभिन्न आशंका उब्जिएको कांग्रेसको भनाइ छ।

यसअघि आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले प्रतिवेदन विगतका आयोगहरूको जस्तो अन्योलमा नपर्ने बताएका थिए। तर, सरकारको ढिलाइले पारदर्शितामाथि प्रश्न उठेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ।

उता, आन्दोलनका अगुवा तथा विभिन्न नागरिक निगरानी समूहहरूले पनि प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै आएका छन्। उनीहरूले सत्यतथ्य बाहिर ल्याउन ढिलाइ गर्नुले जनविश्वासमा असर पर्ने चेतावनी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *