काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले आफ्ना ऊर्जा पूर्वाधारमाथि आक्रमण भए रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले यस्तो कदमले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा गम्भीर असर पार्ने संकेत गरेको हो।
आईआरजीसीका अनुसार यदि अमेरिकी आक्रमणबाट इरानका ऊर्जा केन्द्रहरूमा क्षति पुग्यो भने ती संरचनाहरू पुनर्निर्माण नभएसम्म होर्मुज जलडमरु बन्द गरिनेछ। यो मार्ग विश्वभर आपूर्ति हुने करिब २० प्रतिशत पेट्रोलियम ढुवानी हुने मुख्य समुद्री रुट हो, जसले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ।
यता, इरानका विदेशमन्त्री अब्बास अरघचीले भने हाल उक्त जलमार्ग औपचारिक रूपमा बन्द नभएको स्पष्ट पारेका छन्। तर अमेरिका र इजरायलको गतिविधिका कारण जहाज सञ्चालक र बीमा कम्पनीहरू त्रसित हुँदा आवागमनमा प्रभाव परेको उनको भनाइ छ। उनले समुद्री व्यापारको स्वतन्त्रता कायम राख्न सबै पक्षले जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरु खुला नगरे इरानका ऊर्जा संयन्त्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए। त्यसको जवाफमा आईआरजीसीले इजरायलका ऊर्जा, प्रविधि र अमेरिकी संलग्नता रहेका संरचनाहरूलाई निशाना बनाउने चेतावनी दिँदै क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत गरेको छ।
तनावकै बीच इरानले इजरायलमाथि व्यापक मिसाइल आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न सहर लक्षित हमलामा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। इजरायली वायुसेनाले भने हालसम्म इरानबाट प्रहार भएका करिब ४०० मिसाइलमध्ये अधिकांशलाई बीचमै निष्क्रिय पारिएको दाबी गरेको छ।
विश्लेषकहरूका अनुसार होर्मुज जलडमरुमा सम्भावित अवरोधले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउने र तेलको मूल्यमा थप चाप सिर्जना गर्ने जोखिम रहेको छ।




