काठमाडौं । राष्ट्रिय स्वतनत्र पार्टीलेले सरकार गठनको प्रक्रिया तीव्र बनाउँदै बालेनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएको छ। प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलले औपचारिक कदमहरू अगाडि सारेको हो। पार्टीका अनुसार १२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ गराइनेछ भने १३ चैतमा प्रधानमन्त्रीको शपथ हुने कार्यतालिका तय गरिएको छ। सोही दिन मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरिएको जनाइएको छ।
संवैधानिक प्रावधानअनुसार बमोजिम बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरिने व्यवस्था अनुरूप प्रक्रिया अघि बढाइएको हो। रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ उल्लेखनीय बहुमत हासिल गरेको दाबी गरेको छ।
सरकार गठनसँगै १५ देखि १८ मन्त्रालय रहने संरचना बनाउने तयारी गरिएको छ। मन्त्रालय संख्या सीमित राख्दै दक्षता र विज्ञताको आधारमा मन्त्री चयन गर्ने रणनीति पार्टीले लिएको छ। मन्त्रीहरूको नाम भने १२ चैत साँझसम्म टुंग्याउने तयारी रहेको बताइएको छ। यता, सबै शीर्ष नेता सरकारमा नजाने संकेत पनि देखिएको छ। पार्टी सञ्चालनलाई प्रभावकारी बनाउन केही वरिष्ठ नेताहरूलाई संगठनमै ‘रिजर्भ’ राख्ने आन्तरिक समझदारी बनेको स्रोतले जनाएको छ।
यसैबीच, बालेन शाह, रवि लामिछाने,स्वर्णीम वाग्ले र डोलप्रसाद अर्यालबीच सरकार गठन र सञ्चालनका विषयमा छलफलसमेत भइसकेको छ। जनअपेक्षाअनुसार परिणाममुखी सरकार सञ्चालन गर्ने लक्ष्य राखिएको पार्टीको भनाइ छ।




