देश

गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठककाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको हारपछि नैतिकताका आधारमा दिएको राजीनामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको छ। आइतबार सम्पन्न बैठकले थापालाई नेतृत्वमै रहन आग्रह गर्दै उनको राजीनामा सर्वसम्मत रूपमा नस्वीकार्ने निर्णय गरेको हो। थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै पदबाट बाहिरिने घोषणा गरेका थिए। उनले पार्टी विधानअनुसार उपसभापतिसमक्ष राजीनामा पेश गरेका थिए।

केन्द्रीय कार्यसमितिको बैठक पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा चैत ६ देखि ८ गतेसम्म सञ्चालन भएको थियो। बैठकमा पार्टीका ८८ जना सदस्य तथा पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए। बैठकपछि उपसभापति शर्माले जानकारी दिँदै नेतृत्व निरन्तरता आवश्यक ठहर गर्दै थापाको राजीनामा अस्वीकृत गरिएको बताए। राजीनामा अस्वीकृत भएसँगै पार्टीभित्र नेतृत्व स्थायित्व कायम गर्ने र आगामी राजनीतिक रणनीतिमा एकजुट भएर अघि बढ्ने सन्देश दिएको विश्लेषण गरिएको छ।

बैठकका निर्णय  यस्ता छन् :

–निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको

–वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको

–राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले

–राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले

–सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले

–विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस  २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले

–पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले

–केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *