देश

कांग्रेसमा समानान्तर बैठकको तयारी, आन्तरिक द्वन्द्व झन् गहिरिने संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिन थालेको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेसँगै विवाद थप चर्किने संकेत देखिएको हो।

आइतबार धुम्बाराहीमा बसेको नेताहरूको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाई हालै सम्पन्न निर्वाचनको समीक्षा गर्ने निष्कर्ष निकालेको छ। बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

नेता मीन विश्वकर्माका अनुसार बैठक छिट्टै बस्नेछ र त्यसको मिति आपसी समझदारीमा तय गरिनेछ। उनले आगामी कार्यनीति निर्माणका लागि पनि छलफल गरिने बताए। यता, पार्टीभित्र अर्को धारले भने गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठकमार्फत चुनावी समीक्षा अघि बढाइरहेको छ। निर्वाचन आयोगले समेत थापा नेतृत्वलाई आधिकारिकता दिइसकेको अवस्थामा समानान्तर बैठकको तयारीले पार्टीभित्रको विभाजन थप गहिरिने संकेत दिएको छ।

यसअघि विशेष महाधिवेशनमार्फत थापा नेतृत्व चयन हुँदा देउवा–कोइराला समूह असन्तुष्ट रहँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जुन हाल विचाराधीन छ। दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा नेपाली कांग्रेसभित्रको विवाद निकट भविष्यमा समाधान हुनेभन्दा पनि थप पेचिलो बन्दै जाने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *