देश

मतदाताको मनोविज्ञान बदलियो, वैज्ञानिक विश्लेषणमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो निर्वाचन परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगले विश्लेषण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

केन्द्रीय समिति बैठक जारी रहँदा प्रवक्ता देवराज चालिसेले मतदाताको व्यवहारमा उल्लेखनीय परिवर्तन आएको बताएका छन्। उनका अनुसार मतदाताले दल वा उम्मेदवारलाई रोजेर मत दिएकोभन्दा पनि वर्तमान अवस्थाप्रति प्रतिक्रिया स्वरूप मत दिएको जस्तो देखिएको छ।

चालिसेले मतदाताको मनोविज्ञानमा आएको परिवर्तनलाई प्रणालीसँग जोडेर विश्लेषण गर्नुपर्नेमा जोड दिए। उनले भने, “यो चुनाव दल वा उम्मेदवार रोज्नेभन्दा पनि प्रतिक्रिया जनाउने माध्यम जस्तो देखिएको छ। कतिपय अवस्थामा उम्मेदवार नदेखी वा नचिनी पनि मत प्राप्त भएका छन्। यदि हामीले भोटिङ व्यवहारको प्रवृत्तिलाई वैज्ञानिक र वस्तुगत आधारमा विश्लेषण गरेनौँ भने सही निष्कर्षमा पुग्न सक्दैनौँ।”

नेपाली कांग्रेसले विगतमा आफ्नो प्रभाव बलियो रहेको क्षेत्रमा समेत प्रभाव घटेको निष्कर्ष निकालेको छ। अब कहाँ–कहाँ सुधार (कोर्स करेक्सन) आवश्यक छ भन्ने पहिचान गरी आवश्यक कदम चाल्नुपर्नेमा पार्टीले जोड दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *