काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका शीर्ष पदाधिकारीहरू प्रत्यक्षतर्फ पराजित भएपछि पार्टीको संसदीय नेतृत्व पूर्वमाओवादी पृष्ठभूमिका नेतामाथि जाने संकेत देखिएको छ। यस्तो अवस्थामा उपाध्यक्ष रामबहादुर थापा बादल संसदीय दलको नेता बन्ने सम्भावना बलियो बनेको छ। एमालेका ११ पदाधिकारीमध्ये कुनै पनि नेता प्रत्यक्ष निर्वाचन जित्न नसक्दा नेतृत्व चयनको समीकरण नै फेरिएको छ। समानुपातिकतर्फबाट सांसद बनेका थापा वरिष्ठता र राजनीतिक पहुँचका आधारमा अगाडि देखिएका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको झुकाव पनि बादलकै पक्षमा रहेको नेताहरूको भनाइ छ। यद्यपि औपचारिक छलफल भने अझै सुरु भइनसकेको जनाइएको छ। एमालेभित्र युवा पुस्ताबाट नेतृत्व दिनुपर्ने आवाज उठे पनि त्यसले ठोस रूप लिने संकेत कम देखिएको छ। प्रत्यक्ष निर्वाचन जितेका केही युवा सांसदहरूको नाम चर्चामा आए पनि अन्तिम निर्णय नेतृत्व तहकै प्राथमिकतामा निर्भर हुने देखिन्छ।
एमाले सचिव पद्मा अर्यालले दलको नेता चयनबारे औपचारिक निर्णय हुन बाँकी रहेको बताउँदै पार्टी अब सशक्त प्रतिपक्षको भूमिकामा केन्द्रित हुने संकेत दिएकी छन्। विश्लेषकहरूका अनुसार, एमालेभित्रको यो अवस्था केवल चुनावी पराजयको परिणाम मात्र होइन, नेतृत्व संरचना र रणनीतिमा देखिएको कमजोरीको संकेत पनि हो। प्रत्यक्ष चुनावमा शीर्ष नेतृत्व असफल हुँदा पार्टीले संसदीय नेतृत्वका लागि वैकल्पिक आधार खोज्नुपर्ने बाध्यता सिर्जना भएको छ। यसले एमालेभित्र नयाँ पुस्ता र पुरानो नेतृत्वबीचको बहसलाई थप चर्काउने सम्भावना देखिएको छ भने, आगामी दिनमा पार्टीको दिशा र भूमिकाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।




