राजनीति

थापाको राजीनामापछि कांग्रेसमा बहस तीव्र: पदाधिकारीहरूद्वारा अस्वीकारको संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति गगन थापाको राजीनामापछि उत्पन्न परिस्थिति झन् जटिल बन्दै गएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको चुनावी समीक्षा बैठकमा थापा स्वयं अनुपस्थित रहे पनि उनको राजीनामा नै मुख्य एजेन्डा बनेको छ। बठकमा सहभागी नेताहरूले सभापतिको राजीनामाबारे गम्भीर छलफल हुने बताएका छन्। उपसभापति विश्वप्रकाश शर्माले बैठकले आवश्यक निर्णय लिने भन्दै अहिले नै निष्कर्ष सार्वजनिक गर्न नमिल्ने बताएका छन्।

यसैबीच, महामन्त्री गुरुराज घिमिरेले थापाको कार्यभार अझै बाँकी रहेको उल्लेख गर्दै राजीनामा स्वीकृत नगर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पारे। उनले निर्वाचन परिणामलाई नैतिक आधार बनाएर दिइएको राजीनामामाथि छलफल हुने भए पनि पार्टीलाई अझै थापाको नेतृत्व आवश्यक रहेको धारणा राखे। सहमहामन्त्री उदयशमशेर राणाले समेत देशभरका कार्यकर्ता र समर्थकहरूले सभापतिको राजीनामा नचाहेको प्रतिक्रिया आएको बताए। उनका अनुसार चुनावी परिणामको गहिरो समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ।

नेताहरूले कांग्रेसले आधुनिक प्रचार–प्रसार र प्रविधिको प्रयोगमा कमजोरी गरेको स्वीकार गर्दै आगामी दिनमा सामाजिक सञ्जाल र डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसभित्र नेतृत्व, रणनीति र संगठनबारे पुनर्विचार सुरु भइरहेका बेला थापाको राजीनामाले पार्टीभित्रको आन्तरिक बहसलाई थप तीव्र बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *