राजनीति

नेकपाका केन्द्रिय सदस्यीहरुले घण्टीमा भोट हालेको आरोप, संयोजक प्रचण्डद्धारा कारबाहीसहित पार्टी पुनर्संरचनाको संकेत

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रैबाट व्यापक असहयोग भएको संकेत गर्दै केन्द्रीय तहका नेताहरूविरुद्ध कारबाहीको चेतावनी दिएका छन्। उनले हालै प्राप्त चुनावी प्रतिवेदनअनुसार करिब आधा केन्द्रीय सदस्यले “घण्टी” चुनाव चिन्हमा मतदान गरेको दाबी गरेका छन्। जनवर्गीय सङ्गठनका नेताहरूसँग भएको छलफलमा उनले यस्तो गतिविधिले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्दै जिम्मेवार व्यक्तिहरूको पहिचान गरी कडा कदम चालिने स्पष्ट पारे। उनका अनुसार केन्द्रीय सदस्यदेखि प्रदेश तहका नेतासम्म कसले पार्टीविरुद्ध काम गर्‍यो भन्ने विस्तृत विवरण संकलन भइरहेको छ।

प्रचण्डले प्रमाणसहितको रिपोर्ट उपलब्ध गराउन निर्देशन दिँदै दोषीमाथि कुनै सम्झौता नगरी कारबाही गरिने बताए। उनले यही प्रक्रियाबाट पार्टी पुनर्गठनको अभियान सुरु हुने र नयाँ ढाँचामा संगठन निर्माण गरिने संकेत पनि दिएका छन्।उनले चुनावी परिणामको समीक्षा जारी रहेको जानकारी दिँदै अब पार्टी संरचनालाई चुस्त र प्रभावकारी बनाउने योजना अघि सारिएको बताए। साथै, पछिल्लो निर्वाचनमा नयाँ शक्तिहरूको उदय हुनुमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणहरू जोडिएको उनको भनाइ छ।

राजनीतिक प्रतिस्पर्धामा केवल विकास वा आर्थिक खर्चले मात्रै सफलता सुनिश्चित नहुने उल्लेख गर्दै उनले संगठन, जनविश्वास र बदलिँदो राजनीतिक परिवेशलाई बुझ्नुपर्ने आवश्यकता औंल्याए। यस अभिव्यक्तिले पार्टीभित्र आन्तरिक समीक्षा र अनुशासनको बहसलाई थप तीव्र बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *