काठमाडौं । संघीय संसद्को पहिलो अधिवेशन आह्वान गर्ने जिम्मेवारी वर्तमान सरकारले नै लिने भएको छ। सरकार गठनमा ढिलाइ हुने देखिएपछि मन्त्रिपरिषद् यही निर्णयतर्फ अघि बढेको हो।
अधिवेशन बोलाउने विषयमा निर्णय गर्न आज क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ। प्रारम्भिक योजना अनुसार आगामी चैत १६ गते संसद अधिवेशन सुरु गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
सामान्यतया निर्वाचनपछि पहिलो अधिवेशन नयाँ सरकारले आह्वान गर्ने प्रचलन रहे पनि यसपटक राजनीतिक प्रक्रियामा ढिलाइ हुँदा अन्योल उत्पन्न भएको थियो। सोही कारण हालको सरकारले नै अधिवेशन बोलाउने निष्कर्षमा पुगेको बताइएको छ। यसअघि चैत १२ गते सांसदहरूको शपथ ग्रहण गराउने कार्यतालिका तय भइसकेको छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
नयाँ प्रधानमन्त्री नियुक्तिपछि अधिवेशन बोलाउने अनुमान गरिए पनि संवैधानिक व्यवस्था अनुसार सरकार गठनपछि निश्चित समय पर्खनुपर्ने भएकाले अहिलेको सरकारले नै अधिवेशन आह्वान गर्नुपर्ने अवस्था सिर्जना भएको हो।




