देश

आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न दबाब बढ्दै, माइतीघरमा प्रदर्शन जारी

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गर्दै आन्दोलन थप चर्किएको छ। सोही मागसहित आज पनि राजधानीको माइतीघर मण्डलामा प्रदर्शन जारी रहने भएको छ। जेन–जेट मुभमेण्ट अलायन्सको नेतृत्वमा हुँदै आएको प्रदर्शन आज दिउँसो १ बजेदेखि पुनः सुरु गरिने आयोजकहरूले जनाएका छन्। पछिल्ला ६ दिनदेखि निरन्तर आन्दोलनमा उत्रिएको उक्त समूहले संक्षिप्त विवरण होइन, आयोगको सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले गत फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले अहिलेसम्म सार्वजनिक नगरेको भन्दै आलोचना बढ्दै गएको छ। आन्दोलनकारीहरूले प्रतिवेदन सार्वजनिक नभएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन्। यसैबीच, प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै देशका विभिन्न जिल्लामा समेत प्रदर्शन भइरहेका छन्। सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि बढ्दै जाँदा यस विषयले राजनीतिक तथा सामाजिक बहसलाई थप तीव्र बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *