काठमाडौं । पश्चिम एसियामा चर्किएको युद्ध र भू–राजनीतिक तनावका कारण नेपालको वैदेशिक रोजगार क्षेत्र गम्भीर संकटमा परेको छ। खाडी मुलुकहरूमा कार्यरत लाखौँ नेपाली श्रमिकको रोजगारी जोखिममा पर्दा देशको अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ। नेपालको कुल वैदेशिक रोजगारीमध्ये करिब ६०–७० प्रतिशत श्रमिक पश्चिम एसियामा केन्द्रित छन्। हालको अस्थिर अवस्थाले त्यहाँ कार्यरत नेपालीहरू बेरोजगार हुने खतरा बढाएको छ भने नयाँ श्रम स्वीकृति लिएर विदेश जाने तयारीमा रहेका युवाहरूको अवसर पनि बन्द हुने संकेत देखिएको छ।
वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको मुख्य आधार हो। वार्षिक रूपमा ठूलो परिमाणमा भित्रिने रेमिट्यान्समध्ये आधाभन्दा बढी हिस्सा पश्चिम एसियाबाट आउने भएकाले युद्ध लम्बिँदै गए अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने निश्चित छ। रेमिट्यान्स घट्दा बजारमा माग कम हुने, राजस्व संकलनमा गिरावट आउने र समग्र आर्थिक गतिविधि सुस्ताउने जोखिम बढेको छ।
युद्धका कारण त्यहाँ रहेका नेपाली श्रमिकहरूमा त्रास र असुरक्षा बढ्दो छ। हजारौँले स्वदेश फर्किन आवेदन दिइसकेका छन्। अवस्था थप बिग्रिए उद्धार कार्य चुनौतीपूर्ण बन्ने देखिन्छ, तर यसका लागि नेपाल सरकारको तयारी पर्याप्त देखिएको छैन। यता, विदेशबाट फर्किने सम्भावित ठूलो जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्न नसक्दा सामाजिक समस्या समेत निम्तिन सक्छ। बेरोजगारी, ऋणको दबाब र मानसिक तनावले समाजमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरिएको छ।
विज्ञहरूले यस अवस्थालाई ध्यानमा राख्दै तत्काल उद्धार योजना, वैकल्पिक रोजगारी सिर्जना र कूटनीतिक पहलमार्फत श्रमिकको सुरक्षामा जोड दिनुपर्ने बताएका छन्। साथै, दीर्घकालीन रूपमा वैदेशिक रोजगारीमा निर्भरता घटाएर स्वदेशमै उत्पादनमूलक क्षेत्र विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।




