देश

रास्वपाले १५ मन्त्रालयसहित नयाँ सरकार गठनको तयारी सुरु गर्यो

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकारलाई ‘छरितो र कार्यकुशल’ बनाउने तयारी सुरु गरेको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बन्ने नयाँ मन्त्रिपरिषद्मा बढीमा १५ मन्त्रालय राख्ने निर्णय शीर्ष नेताहरूबीच भएको छ।

बिहीबार बसेको बैठकले ‘सुशासन र मितव्ययिता’लाई ध्यानमा राख्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। संविधानले प्रधानमन्त्रीसहित २५ जना सम्मको मन्त्रिपरिषद् गठन गर्न अनुमति दिएको भए पनि, रास्वपाले प्रशासनिक खर्च घटाउन र कार्यसम्पादन तीव्र बनाउन १५ मन्त्रालयको अवधारणा अघि सारेको हो।

संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथ १२ चैतका लागि तय गरेसँगै रास्वपाले प्रधानमन्त्रीको शपथ १३ चैतमा गर्ने तयारी गरेको छ। सोही दिन सानो आकारको मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथ खुवाउने पनि तयारी भइरहेको छ।

पार्टीले आफ्नो विधानमा संसदीय दलको नेता चयनसम्बन्धी प्रावधानलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सँग मिलाउने संशोधन गर्ने भएको छ। अब निर्वाचित सांसदहरूले दलको नेता चयन गर्ने कानुनी प्रक्रिया अपनाइनेछ।

रास्वपा २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीचको सहमतिअनुसार शाहलाई संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा अघि बढाइएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *