देश

खक्रौला नाकामा झडप : सामान बरामद विवादपछि डीएसपीमाथि हातपात, छानबिन समिति गठन

काठमाडौं । कैलालीको खक्रौला नाकामा भारतबाट ल्याइएको सामान बरामद गर्ने विषयले तनावग्रस्त रूप लिँदा सशस्त्र प्रहरी र व्यवसायीबीच झडप भएको छ। घटनापछि बीओपीमै कार्यरत एक डीएसपीमाथि हातपात भएको भिडियो सार्वजनिक भएसँगै सुरक्षा निकायले छानबिन प्रक्रिया अघि बढाएको छ।

मंगलबार साँझ टीकापुरस्थित एक व्यवसायीले जीएसटी बिलसहित ल्याएको सामान सशस्त्र प्रहरीले खक्रौला बीओपीमा बरामद गरेपछि विवाद सुरु भएको हो। उक्त सामानलाई अवैध भन्दै नियन्त्रणमा लिएपछि व्यवसायी पक्षले विरोध जनाएका थिए। व्यवसायीहरूले बिल–बिजक भएको सामानलाई पनि अवैध भन्दै बरामद गर्नु अन्यायपूर्ण भएको आरोप लगाएका छन्। उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अनावश्यक दुःख दिने प्रवृत्ति बढेको गुनासो गरेका छन्। उनीहरूका अनुसार विरोधपछि सशस्त्र प्रहरीले बरामद गरिएको सामान सम्बन्धित व्यवसायीलाई फिर्ता गरिसकेको छ।

तर, विवाद त्यतिमै सीमित रहेन। बुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेल माथि हातपात गरेको दृश्य सार्वजनिक भएपछि घटना थप गम्भीर बनेको हो। घटनापछि सशस्त्र प्रहरी बलले आन्तरिक छानबिन थालेको छ। सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्की को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। यसैबीच, खक्रौला बीओपीमा कार्यरत डीएसपी बाहेकका ३३ जना सशस्त्र प्रहरीलाई गणमा तान्ने निर्देशन दिइएको भए पनि कार्यान्वयन भने हुन सकेको छैन। सम्बन्धित गणले छानबिन निष्कर्ष नआएसम्म कुनै निर्णय नगरिने जनाएको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार घटनामा संलग्नहरूविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ भने डीएसपी सम्बन्धी निर्णय उच्च मुख्यालयबाट हुने बताइएको छ।सीमा नाकामा भएको यो घटनाले सुरक्षा निकाय र व्यवसायीबीचको सम्बन्ध, अधिकार प्रयोगको सीमाना र समन्वयको अभावबारे गम्भीर प्रश्न उठाएको छ। अहिले सबैको नजर छानबिन समितिको प्रतिवेदनतर्फ केन्द्रित भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *