काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अप्रत्याशित परिणामपछि नेपाली कांग्रेसभित्र नेतृत्व र जिम्मेवारीको बहस उत्कर्षमा पुगेको छ। यहीबीच पार्टी सभापति गगन थापाले आज नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।
निर्वाचनमा पराजयसँगै नेतृत्वको भूमिकामाथि प्रश्न उठिरहेका बेला थापाको निर्णयलाई राजनीतिक जवाफदेहिताको संकेतका रूपमा हेरिएको छ। यद्यपि, पार्टीभित्रका धेरै नेताहरूले उनलाई तत्काल राजीनामा नदिन र संगठन सुदृढीकरणमा केन्द्रित हुन सुझाव दिएका थिए। यसपटक थापा काठमाडौं–४ छाडेर सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर उक्त क्षेत्रमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह सँग पराजित भए। यससँगै कांग्रेसको समग्र प्रदर्शन पनि कमजोर रह्यो।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दा कांग्रेस दोस्रो स्थानमा सीमित भयो। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गर्न सक्यो। धेरै शीर्ष नेताहरू पराजित भएपछि पार्टीभित्र रणनीति र नेतृत्वमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
थापा विशेष महाधिवेशनमार्फत सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए। तर उक्त महाधिवेशनकै वैधताबारे विवाद अझै कायम छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले त्यसलाई पूर्ण रूपमा स्वीकार नगरेको अवस्थामा अहिलेको पराजयले आन्तरिक मतभेदलाई थप चर्काएको छ। अव वैशाखमा १५ औँ नियमित महाधिवेशन मार्फत कांग्रेसले सभापति छनोट गर्ने बुझिएको छ । कांग्रेस केन्द्रिय समितिमा सो विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।
निर्वाचनअघि देखिएको आक्रामक शैली र सुधारको नाराले उत्साह सिर्जना गरे पनि नतिजाले त्यसलाई पुष्टि गर्न सकेन। यसले पार्टीभित्र ‘नयाँ बनाम पुराना’ बहसलाई फेरि सतहमा ल्याएको छ। साथै, टिकट वितरणदेखि संगठन सञ्चालनसम्मका विषयमा असन्तुष्टि बढेको थियो। गगन थापाले विशेष महाधिवेशनमार्फत सभापति बनेर निर्वतमान सभापति देउवा समुहका करिब एक दर्जन नेतालाई टिकट वितरण गरेका थिएनन् , सो विषयले पनि कांग्रेसभित्र तिक्ता जन्मिएको थियो ।
यता, पार्टीभित्र देखिएको विवाद र नेतृत्व संकटकाबीच कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। शुक्रबार बस्ने बैठकमा थापाको राजीनामामाथि निर्णय हुने अपेक्षा गरिएको छ। साथै, निर्वाचन समीक्षा, संगठन पुनर्गठन र आगामी महाधिवेशनको तयारीबारे समेत छलफल हुने बताइएको छ। विश्लेषकहरूका अनुसार अहिले कांग्रेस निर्णायक मोडमा छ। नेतृत्वले आत्मसमीक्षा गर्दै स्पष्ट रणनीति अघि सार्न सकेन भने संकट अझ गहिरिन सक्ने देखिन्छ। अबको प्रश्न यही हो—के केन्द्रीय समिति बैठकले थापाको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्वतर्फ जानेछ, वा उनलाई नै सुधारको जिम्मेवारीसहित अघि बढ्न आग्रह गर्नेछ?
१५ औँ महाधिवेशनमा कांग्रेस सभापतिमा क–कसको दाबी ?
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्वको दौड तीव्र बन्दै गएको छ। ‘अर्को सभापति को बन्ने ?’ भन्ने प्रश्नले कांग्रेसको आन्तरिक राजनीति मात्रै होइन, भविष्यको दिशा र शक्ति सन्तुलनसमेत प्रभावित पार्ने देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वमा निरन्तरता दिने कि नयाँ पुस्तालाई अवसर सुम्पिने भन्ने विषयमै अहिले सबैभन्दा ठूलो बहस केन्द्रित छ। संस्थापन पक्षका नेताहरू अनुभव र स्थायित्वको पक्षमा उभिएका छन् भने युवा पुस्ता भने ‘जेनरेशन सिफ्ट’ आवश्यक भएको तर्क गर्दै आएका छन् ।
विशेष महाधिवेशनबाट सभापति बन्नु अघि तत्कालीन महामन्त्री गगन थापाले खुला रूपमा ‘नयाँ नेतृत्व’को आवश्यकता औंल्याउँदै आएका थिए । विशेष महाधिवेशनबाट सभापति भएर निर्वाचनमा होमिएपछि उनले पदबाट राजीनामा दिए । अब पुनः सभापतिको दाबी गर्लान् कि नगर्लान् ? सो विषय बहसको विषय पनि बनेको छ । उनले सुधार, गतिशीलता र निर्णायक नेतृत्वको एजेन्डा अघि सार्दै आफूलाई वैकल्पिक नेतृत्वका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका थिए । तर अब के गर्लान् ?
कोइराला परिवारको सक्रियता
कांग्रेसभित्र कोइराला समूह पनि उत्तिकै सक्रिय देखिन्छ। वरिष्ठ नेता शेखर कोइरालालाई सभापतिको बलियो दावेदारका रूपमा हेरिँदैछ। उनको अनुभव, संगठन सम्हाल्ने क्षमता र अनुशासनलाई आधार मानेर धेरै नेता–कार्यकर्ताले उनलाई विकल्पको रूपमा अघि सारिरहेका छन्। यस्तै, शशांक कोइराला पनि संगठनात्मक आधारका कारण सम्भावित प्रतिस्पर्धीका रूपमा चर्चामा छन्। कोइराला परिवारको ऐतिहासिक प्रभावले पनि उनीहरूको दाबीलाई बल पुर्याएको देखिन्छ। संस्थापन समूहभित्रै पनि विकल्प खोज्ने प्रयास भइरहेको छ। उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतका नेताहरूको नाम पनि आन्तरिक छलफलमा उठिरहेको छ। यद्यपि, देउवाले कसलाई समर्थन गर्ने भन्ने विषय अझै खुल्न सकेको छैन।
कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा केवल व्यक्तिगत आकांक्षा मात्र नभई गुटगत शक्ति सन्तुलनमा आधारित देखिन्छ। देउवा समूह, कोइराला समूह र इतर समूहबीचको समीकरणले अन्तिम परिणाम निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ। पछिल्लो समय भएको भेटघाट र आन्तरिक छलफलहरूले पनि यही संकेत दिएका छन् कि महाधिवेशनअघि नै ‘डिल’ र सहमति खोज्ने प्रयास तीव्र हुनेछ। १५ औँ महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चयन मात्र होइन, पार्टीको वैचारिक दिशा, संगठन पुनर्गठन र मतदाता विश्वास पुनःस्थापनाको अवसर पनि हो। अहिलेको मुख्य प्रश्न भनेको—पुरानै नेतृत्वको निरन्तरता कि नयाँ पुस्ताद्वारा ‘कोर्स करेक्सन’? यही बनेको छ बहस । यसैले आगामी महाधिवेशनले कांग्रेसको मात्रै होइन, समग्र नेपालको राजनीतिक समीकरणलाई समेत नयाँ दिशा दिने सम्भावना रहेको विश्लेषण गरिएको छ।




