काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । उक्त क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।
निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट प्राप्त गरेको छ ।
निर्वाचन परिणामपछि थापाले राजीनामाको तयारी गरेका थिए । उनलाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव दिएका थिए ।
थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए । उनको राजीनामाबारे निर्णय पार्टीको आगामी बैठकले गर्नेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ ।




