काठमाडौं । हालैको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित संसदको सबैभन्दा ठूलो शक्ति बनेको छ। बहुमत सरकार गठनका लागि आवश्यक संख्या सहजै पार गर्दै पार्टीले स्पष्ट जनादेश प्राप्त गरेको हो। रास्वपाबाट निर्वाचित सांसदहरूको विशेषता भनेको उनीहरूको विविध पृष्ठभूमि हो। पारम्परिक राजनीतिभन्दा बाहिरका चिकित्सक, इञ्जिनियर, पूर्वसञ्चारकर्मी, कानुन व्यवसायी, कलाकार, सामाजिक अभियन्ता र उद्यमीहरू संसदमा पुगेका छन्। यसले संसदमा नयाँ सोच र बहुआयामिक प्रतिनिधित्व देखिएको विश्लेषण गरिएको छ।
पार्टीमा उच्च शिक्षित सांसदहरूको उपस्थिति पनि उल्लेखनीय छ। विद्यावारिधि ९पीएचडी० गरेका सदस्यदेखि स्वास्थ्यकर्मी, नर्स र जनस्वास्थ्य विज्ञसम्मको प्रतिनिधित्वले नीति निर्माणमा विशेषज्ञताको अपेक्षा बढाएको छ। युवापुस्ताको प्रभाव पनि रास्वपामा स्पष्ट देखिएको छ। ‘जेनजी’ का थुप्रै प्रतिनिधि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट संसदमा प्रवेश गरेका छन्। यसले राजनीतिक नेतृत्वमा पुस्तान्तरणको संकेत गरेको छ।
त्यसैगरी, केही चर्चित अनुहार तथा सार्वजनिक जीवनमा स्थापित व्यक्तित्वहरू पनि सांसद बनेका छन्। सामाजिक अभियन्ता, सञ्चारकर्मी र सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिले पार्टीलाई फरक पहिचान दिएको छ। विश्लेषकहरूका अनुसार, विविध पृष्ठभूमिबाट आएका सांसदहरूको यो संयोजनले रास्वपामाथि परिणाममुखी काम गर्ने ठूलो जिम्मेवारी थपेको छ। नयाँ जनादेशसँगै अब पार्टीले आफ्नो क्षमताको परीक्षा दिनुपर्ने चुनौती पनि उत्तिकै देखिएको छ।




