काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश केन्द्रित राजनीति गर्न स्पष्ट निर्देशन दिएका छन्। ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले ‘म केन्द्रित’ सोचबाट बाहिर निस्कन नसके नयाँ शक्तिको भविष्य पनि पुराना दलभन्दा कमजोर हुन सक्ने चेतावनी दिए।
उनले सांसदहरूको मुख्य जिम्मेवारी कानुन निर्माण भएको उल्लेख गर्दै विकासका नाममा परम्परागत शैली दोहोर्याउनु गलत हुने बताए। “जनताको अपेक्षा पूरा गर्न नीति निर्माणमा केन्द्रित हुनुपर्छ,” उनको भनाइ थियो। लामिछानेले दुई तिहाइ नजिकको जनमतलाई अवसर मात्र नभई ठूलो चुनौतीका रूपमा लिन आग्रह गरे। उनले पुराना दललाई नागरिकले दशकौँ समय दिएको भए पनि नयाँ शक्तिलाई त्यति समय नदिने स्पष्ट पार्दै सावधानी अपनाउन सुझाए।
सांसदहरूलाई अनुशासनमा रहन, बिचौलियाबाट टाढा बस्न र जिम्मेवार अभिव्यक्ति दिन निर्देशन दिँदै उनले पार्टीभित्र ‘राइट टु रिकल’ व्यवस्था कडाइका साथ लागू गरिने संकेत पनि गरे। यसका साथै, उनले सामाजिक सञ्जालमा आक्रामक शैली त्याग्न, विपक्षीप्रति सम्मानजनक व्यवहार गर्न र देशको समग्र विकासमा ध्यान दिन आग्रह गरे। निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायलाई समेत आश्वस्त पार्दै उनले नयाँ नेतृत्वले सुशासन र आर्थिक सुधारमा ध्यान केन्द्रित गर्ने बताए। लामिछानेको पछिल्लो अभिव्यक्तिले उनको राजनीतिक शैली अधिक संयमित र जिम्मेवार बन्दै गएको संकेत गरेको छ।




