देश

खोटाङमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना, सबै सुरक्षित

काठमाडौं । काठमाडौंबाट शव लिएर खोटाङ पुगेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ। घटना केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा भएको हो। स्थानीय प्रशासनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले सबै यात्रु सुरक्षित रहेको जानकारी दिएकी छन्।

गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा असन्तुलित भई दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार, डिलमा अवतरण गर्ने प्रयासपछि पुनः स्थान परिवर्तन गर्न खोज्दा समस्या उत्पन्न भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।

अवतरण गर्ने क्रममा असन्तुलित भई हेलिकप्टर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। क्यानका अनुसार दुर्घटनामा परेको ‘९ एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टरमा सवार सबै जना सुरक्षित रहेका छन् । हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार थिए । दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो । अवतरणका क्रममा असन्तुलित भएर  हेलिकप्टर पल्टिएको प्राधिकरणले जनाएको छ । साथै, उक्त हेलिकप्टरमा कुनै पनि शव बोकिएको भन्ने हल्ला सत्य नरहेको पनि क्यानले स्पष्ट पारेको छ । घटनास्थलमा रहेका यात्रु तथा चालक दलको उद्धारका लागि काठमाडौँबाट अर्को हेलिकप्टर खोटाङतर्फ प्रस्थान गरिसकेको छ।

https://www.facebook.com/reel/949632931322409

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *