काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि तिख्रिएको छ। पार्टीभित्र देउवा पक्षले विशेष महाधिवेशनको मान्यता नदिने दाबी गर्दै अहिले राजनीतिक हलचल बढाएको छ। कृष्णप्रसाद सिटौला, जीतजंग बस्नेत र मीनबहादुर विश्वकर्मा जस्ता देउवा निकट नेताहरूले औपचारिक रूपमा विशेष महाधिवेशनलाई स्वीकार नगरेको बताएका छन्। हिजो काठमाडौंमा आयोजित कार्यक्रममा विश्वकर्माले गगन थापासँगको चुनावी सहकार्य मात्र भएको र विशेष महाधिवेशनलाई मान्यता नदिएको स्पष्ट पारे।
उनको तर्क अनुसार, “हाम्रो पार्टीमा अहिले दुई वटा सभापति छन्। एउटा १४औँ महाधिवेशनबाट निर्वाचित, अर्को विशेष महाधिवेशनको नाममा घोषणा गरिएको। निर्वाचन नभएको अवस्थामा कसैलाई निर्वाचित भन्न मिल्दैन।” यसलाई प्रत्युत्तर दिँदै कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, “सडकमा कोले के बोल्छ, पार्टी छोड्छ वा के भन्छ भन्ने कुरामा हामी प्रतिक्रिया दिन्नौँ। पार्टीको आफ्नै प्रक्रिया र परम्परा अनुसार निर्णय हुन्छ।”
चालिसेले आगामी नियमित महाधिवेशन र पार्टी पुनर्निर्माण योजनाको समयसीमा केन्द्रीय समितिको बैठकले तय गर्ने बताए। सभापति थापाको राजीनामासम्बन्धी चर्चा बारे उनले भने, “यदि केन्द्रीय समितिमा प्रस्ताव आयो भने मात्र औपचारिक निर्णय हुनेछ। बाहिर फैलिएको हल्लामा टिप्पणी गर्ने काम छैन।”प्रतिनिधि सभा पराजयपछि उत्पन्न विवाद र रणनीतिक समीक्षा पछि कांग्रेसले आफ्नो नेतृत्व र भविष्यको दिशा स्पष्ट पार्न अदालतको निर्णयको प्रतिक्षा गर्दैछ। पार्टीभित्रको संकट र अदालतको आधिकारिक निर्णयबारे राजनीतिक विश्लेषकहरूको नजर जुधिरहेको छ।




