देश

सी जिनपिङको पुस्तक जलाउने घटनाप्रति चीनको चासो, गृह मन्त्रालयद्वारा कारबाहीको निर्देशन

काठमाडौं। चीनले चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाएको विषयमा चासो देखाएपछि गृह मन्त्रालयले नेपाल प्रहरीलाई दोषीविरुद्ध कारबाही अघि बढाउन निर्देशन दिएको छ। मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनको दूतावासले कूटनीतिक पत्रमार्फत चासो व्यक्त गरेको थियो। सो पत्र परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयमा पठाइएको थियो।

गृहमन्त्रालयले पत्र प्राप्त भएलगत्तै नेपाल–चीन सम्बन्धमा असर पार्न सक्ने घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मोरङका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरीलाई निर्देशन दिएको हो। मन्त्रालयका अनुसार, आवश्यक कानुनी प्रक्रिया अनुसार दोषीमाथि कारबाही सुनिश्चित गर्न प्रहरीलाई निर्देशन जारी गरिएको छ। गृह मन्त्रालयले घटनाको छानबिन, प्रमाण संकलन र दोषी पत्ता लगाएर कानुनी कदम चाल्न उच्च प्राथमिकता दिएको जनाइएको छ।

यस घटनाले दुई देशबीचको कूटनीतिक संवेदनशीलतालाई उजागर गरेको छ भने नेपाल–चीन सम्बन्धमा कुनै असर नपार्ने खालको कदम चाल्ने जिम्मेवारी नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायमा रहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *