काठमाडौं। कैलारी गाउँपालिका(१) की निराशा डगौँरा चौधरी २०५३ सालमा कक्षा ७ मा पढ्दा देशमा माओवादी सशस्त्र युद्ध चर्किंदै थियो। १४ वर्षको उमेरमा उनी माओवादी कार्यकर्ताका रूपमा सक्रिय भइन्। सुरुमा चिठीपत्र पुर्याउने कामबाट शुरुआत गरेकी निराशा पछि प्रत्यक्ष जनयुद्धमा संलग्न भइन्।
निर्ममता र कठिन परिस्थितिमा हुर्किएकी निराशा निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन्। बुवा बलिराम र आमा मधनीले मजदुरी, अधियाँ लगायत गरेर जीविकोपार्जन गर्थे। निराशाका दुई दाइ, दिदी र एक भाइ छन्। जनयुद्धका बेला उनी विद्यालय जानुपर्ने अवस्था र प्रशासनको डरबीच लुकीलुकी पढाइ पनि जारी राखिन्। भदौ १२, २०५८ देखि उनी भूमिगत भइ सशस्त्र आन्दोलनमा सक्रिय भइन्। विद्यार्थी र एरिया कमिटीमा जिम्मेवारी सम्हालेकी निराशा, अखिल क्रान्तिकारी महिला संघको कैलाली जिल्ला सचिव हुँदै अध्यक्षसम्म पुगिन्।
फागुन ११, २०५९ मा नेपाली सेनाले उनीलाई पक्राउ गरी तेघरी ब्यारेकमा राख्यो। ६ महिनापछि केन्द्रीय कारागार काठमाडौं ल्याइएकी निराशाले बन्दी जीवनमा चरम मानसिक र शारीरिक यातना भोगिन्। उनी सम्झिन्छिन्, “नांगै पारेर सिस्नुपानी लगाउँथे। यसरी यातना दिनुभन्दा त गोली ठोकेर मारिदिनुस् भन्थेँ। मलाई भेट्न कोही आउँदैनथ्यो।” तेघरी ब्यारेकमा सेनाले उनलाई गोदावरी खोलामा गाड्न खोज्दा पनि परिवारले उनीबारे आश टार्न सकेको थिएन। जेलमा पठाएको चिठीबाट मात्र परिवारले उनको स्थिति थाहा पायो।
२०६२ मंसिर ८ मा निराशा रिहा भइन्। शान्ति सम्झौतापछि उनी अखिल क्रान्तिकारी महिला संघ कैलालीको अध्यक्ष भइन् र २०६६ मा जनमुक्ति सेनाका कम्पनी कमान्डर कर्णबहादुर चौधरीसँग विवाह गरिन्। उनीहरुको एक १४ वर्षीया छोरी छ। हाल निराशा नेपाल कम्युनिस्ट पार्टीबाट समानुपातिक सांसद बनेकी छिन्। पहिलोपटक संसद् यात्रा गर्दै उनी भन्छिन्, “महिला सशक्तीकरण र वर्गीय उत्पीडनविरुद्ध मेरो योगदान सदनमा प्रस्तुत गर्नेछु। उत्पीडित वर्गको आवाज मजबुत बनाउने मेरो प्रतिबद्धता हो।”
निराशाको जीवनले संघर्ष, साहस र समाजसेवाको मिसाल प्रस्तुत गर्दछ। जनयुद्धको कठिनाइ, जेल जीवन र पार्टीमा योगदानले उनलाई वर्तमान संसद्मा पुर्याएको छ, जहाँ उनी अब शान्ति, समानता र महिला सशक्तीकरणको लागि आवाज उठाउनेछिन्।




