काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। आयोगले सोमबार विभिन्न राजनीतिक दलहरूले पेस गरेको सूचीका आधारमा निर्वाचित सांसदहरूको नाम सार्वजनिक गरेको हो।
निर्वाचनअघि दलहरूले बुझाएको बन्दसूचीबाट प्राप्त सिट संख्याअनुसार सम्बन्धित दलहरूले नाम सिफारिस गरेपछि आयोगले ती उम्मेदवारलाई निर्वाचित घोषणा गरेको जनाएको छ।आयोगका अनुसार सबैभन्दा बढी प्रतिनिधित्व राष्ट्रिय स्वतन्त्र पार्टी को रहेको छ। सो पार्टीबाट ५७ जना सांसद समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन्।
त्यसैगरी नेपाली कांग्रेस बाट २० जना, नेकपा एमाले बाट १६ जना र नेपाल कम्युनिस्ट पार्टी बाट ९ जना सांसद निर्वाचित भएका छन्। यसका साथै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट समानुपातिकतर्फ ४–४ जना सांसद निर्वाचित भएका छन्। समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित ११० सांसदमध्ये ८२ जना महिला रहेका छन्। महिला प्रतिनिधित्वको हिसाबले पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ, जहाँबाट ४८ जना महिला निर्वाचित भएका छन्।
त्यस्तै नेपाली कांग्रेसबाट १५, नेकपा एमालेबाट १०, नेपाल कम्युनिस्ट पार्टीबाट ४, श्रम संस्कृति पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना महिला सांसद निर्वाचित भएका आयोगले जनाएको छ।




