काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव भइरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योग को डिपोमा ठूलो संख्यामा ग्यास सिलिन्डर मौज्दात राखिएको फेला पारेको छ।
विभागको अनुगमन टोलीले उद्योगको डिपोमा १४।२ केजी क्षमताका ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर स्टक गरेर राखिएको पत्ता लगाएको हो। बजारमा ग्यासको अभाव देखिँदा पनि उद्योगले सिलिन्डर बाहिर नपठाई मौज्दात राखेको ठहर गर्दै विभागले उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार यो कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ‘अनुचित व्यापारिक क्रियाकलाप’ अन्तर्गत पर्ने भएकाले कानुनी कारबाही गरिएको हो। अनुगमनपछि विभागले मौज्दात रहेका सबै सिलिन्डरहरू नेपाल आयल निगम को समन्वयमा तत्काल बजारमा पठाई उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ।
विभागका महानिर्देशक रोशन ज्ञवाली ले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारण लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै ठूलो संख्यामा सिलिन्डर होल्ड गरेर राख्नु गैरकानुनी भएको बताए। उनले कारबाहीको उद्देश्य उद्योगलाई मात्र दण्डित गर्नु नभई बजारमा लुकाइएका ग्यास सिलिन्डर बाहिर ल्याई उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्नु रहेको स्पष्ट पारे।
यसैबीच विभागले बजारमा ग्यास अभावको अवस्था कायम रहेकाले अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको जनाएको छ। कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइए कडा कानुनी कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।




