देश

फागुन २१ को निर्वाचन भदौ २३–२४ को ‘दोस्रो एपिसोड’ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङ ले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई भदौ २३ र २४ का घटनाक्रमको ‘दोस्रो एपिसोड’ भएको टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत लामो अभिव्यक्ति सार्वजनिक गर्दै उनले भदौ २३–२४ को घटनापछि बसेको कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठकमै आफूले आगामी घटनाक्रमबारे संकेत गरेको दाबी गरेका छन्।

गुरुङका अनुसार उनले त्यसबेला नै “यो पहिलो एपिसोड हो, दोस्रो एपिसोड अझै बाँकी छ” भनेर नेताहरूलाई सचेत गराएका थिए। विभिन्न औपचारिक तथा अनौपचारिक बैठकमा पनि उनले यही कुरा दोहोर्‍याउँदै आएको उल्लेख गरेका छन्। उनले केही नेताहरूले आफ्नो चेतावनीलाई गम्भीर रूपमा नलिएको आरोप लगाउँदै पद र महत्वाकांक्षाले ग्रसित मानसिकताका कारण पार्टी नेतृत्वले सम्भावित परिस्थितिको आकलन गर्न नसकेको बताएका छन्।

गुरुङले आफूले केही नेताहरूलाई निर्वाचन नलड्न सुझाव दिएको पनि खुलासा गरेका छन्। “फागुन २१ को निर्वाचन भदौ २३–२४ को दोस्रो एपिसोड हो भन्नेमा म स्पष्ट थिएँ,” उनले लेखेका छन्। उनका अनुसार राजनीतिक घटनाक्रमको सही विश्लेषण गर्न नसक्नु नेतृत्वको अदूरदर्शिता हो। साथै उनले पार्टीभित्रै आन्तरिक असमझदारी र कमजोर रणनीतिका कारण कांग्रेसले निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा बेहोरेको टिप्पणी गरेका छन्। गुरुङले कांग्रेसका नेताहरूले हारको जिम्मेवारी लिनुपर्ने भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेर मात्र वास्तविकता ढाकछोप गर्न नसकिने व्यङ्ग्य समेत गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *