काठमाडौं । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसे सँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्य विदुर कोइराला को इजलासले चालिसेलाई उक्त रकम धरौटी राखेर रिहा हुन आदेश दिएको हो। अदालतमा आरोपबारे उनले इन्कारी बयान दिएका कारण धरौटी मागिएको जनाइएको छ।
अख्तियारले चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै गत मंसिर २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनी गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभाको अर्थ समितिका निवर्तमान सभापति समेत हुन्।
अनुसन्धानका क्रममा चालिसेले करिब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका भए पनि ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। बाँकी रकम गैरकानुनी आर्जन भएको भन्दै अख्तियारले त्यही आधारमा मुद्दा दायर गरेको हो।
सम्पत्ति जफतको मागसहित अख्तियारले चालिसेसँगै उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाएको छ।
अख्तियारका अनुसार चालिसेले सार्वजनिक पदमा रहँदा वास्तविक सम्पत्ति विवरण नदेखाई लुकाइछिपाई झुट्टा विवरण पेश गरेको आरोप लागेको छ।




