काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेपछि ए डिभिजनका क्लबहरू आन्दोलित बनेका छन्। क्लबहरूले गत कात्तिक १७ गते भएको सहमतिको कार्यान्वयन र लिग मिति तोक्न प्राविधिक तथा आर्थिक पक्षमा सहमति गर्न दबाब दिएका छन्।
सोमबार क्लबहरूले पत्रकार सम्मेलन गरी आफ्नो माग सम्बोधन नगरे लिगको आयोजना अवरोध गर्न सक्ने चेतावनी दिएका छन्। एन्फाले चैत ३० गतेदेखि लिग सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको भए पनि क्लबहरूले नियमानुसार १४ क्लबको अनिवार्य सहभागिता सुनिश्चित नगरी लिग सुरु गर्न नहुने दाबी गरेका छन्।
क्लबहरूका अनुसार प्राविधिक र आर्थिक पक्षमा सहमति नभएसम्म लिगको मिति तोक्नु अनुचित र नियमविपरीत भएको छ। उनीहरूले क्लबहरूबीचको सहमति सम्मान गर्न एन्फामा आग्रह गरेका छन्।




