काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ। महासंघले इन्धन मूल्य वृद्धि व्यवसायी र उपभोक्तामाथि प्रत्यक्ष असर पार्ने भएकाले तुरुन्त कारबाहीको आवश्यकता औँल्याएको छ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेपछि महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महासंघका महासचिव डकनाथ गौतम का अनुसार सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर भएकाले मूल्य वृद्धिले प्रत्यक्ष व्यवसायमा असर पार्छ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि विगत २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघ असन्तुष्ट छ। महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधि अनुसार भाडा तुरुन्त समायोजन गर्न आग्रह गरेको छ।
महासंघले संघीय रुटका लागि यातायात व्यवस्था विभाग र प्रदेश अन्तर्गतका रुटका लागि सातै प्रदेशका सम्बन्धित मन्त्रालयमार्फत भाडा यथाशीघ्र समायोजन गरिनुपर्ने जोड दिएको छ।
साथै, महासंघले नेपाल आयल निगमले मूल्य वृद्धि मात्र गरेर समस्या समाधान नहुने बताए। उनीहरूले निगमभित्रको आन्तरिक चुहावट रोक्न, पेट्रोलियम पदार्थको खपत नियन्त्रण गर्न र वैज्ञानिक आपूर्ति प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेका छन्।




