देश

अर्याल–श्रेष्ठ नियुक्तिप्रति आम जनता पार्टी अध्यक्ष साहको आपत्ति

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साह ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आफ्ना नजिकका व्यक्तिलाई राज्यका महत्त्वपूर्ण निकायमा नियुक्त गरेको विषयमा कडा आपत्ति जनाएका छन्। उनले यो कदम जेनजी विद्रोहको मूल मर्ममाथि प्रहार र सुशासनको अपहेलना भएको टिप्पणी गरेका छन्।

साहका अनुसार, निर्वाचन सम्पन्न गरेर बहिर्गमनको अवस्थामा सरकारले आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिलाउनु निन्दनीय छ। उनले गृहमन्त्री ओमप्रकाश अर्याल लाई सत्ताबाहिर बस्न नचाहेर राष्ट्रिय सभामा मनोनित गर्ने सिफारिस र प्रधानमन्त्रीको पिए आदर्श श्रेष्ठ लाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु पारदर्शिता र सुशासनको उपहास भएको बताएका छन्।

अध्यक्ष साहले भनेका छन्, “यसअघि पनि प्रमुख स्वकीय सचिव आदर्शले जेनजी आन्दोलनका शहीद परिवारको नाममा आफ्नै श्रीमती र परिवारका सदस्यलाई जागिर खुवाएका थिए। अहिले, सुशीला कार्की आफैं आफ्नो प्रमुख स्वकीय सचिवको लागि राजनीतिक नियुक्ति गर्दै जेनजीको आदर्श खण्डन गर्न उद्धत छिन्।”

साहले जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी आफ्ना नजिकका व्यक्तिलाई नियुक्त गर्नु लज्जास्पद कार्य भएको उल्लेख गर्दै विवादास्पद नियुक्ति फिर्ता लिन सरकारसँग माग गरेका छन्।

यस कदमसँगै जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा सरकारी निर्णय र पारदर्शीताबारे थप आलोचना र दबाब बढ्ने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *