काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले सरकारविरुद्ध कडा आवाज उठाउँदै माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको छ। आन्दोलनको मुख्य माग गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति खारेज गर्नु रहेको छ।
सोमबार बिहान ११ बजेदेखि प्रदर्शनकारीहरूले आफ्नो विरोध देखाउन आँखामा कालो पट्टी बाँधेर माइतीघर मण्डलामा उपस्थित भएका थिए। अलायन्सले गुपचुप राखिएको आयोगको प्रतिवेदन खुला नहुँदासम्म सरकारप्रति दबाब दिन यस्तो कदम उठाएको जनाएको छ।
अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हामीसँग भएको सहमतिको उल्लंघन गर्दै अपारदर्शी र कृपावादी ढंगले आफ्ना नजिकका व्यक्तिलाई नियुक्ति दिएको घोर आपत्तिजनक कार्य हो। राज्यका निकायलाई राजनीतिक भर्ती केन्द्र बनाउनु जनता र जेनजी जनआन्दोलनको मर्म विपरीत छ।”
प्रदर्शनमा सहभागीहरूले अहिलेसम्म कुनै हिंसा नचाहिने, शान्तिपूर्ण तर कडा चेतावनी स्वरूप सरकारलाई सन्देश पठाउने उद्देश्य राखिएको आयोजकहरूले बताए।




