काठमाडौं । प्रतिनिधिसभा सदस्य सागर ढकाल ले प्रधानमन्त्री सुशीला कार्की ले हालै गरेका केही नियुक्तिसम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। उनले ती निर्णयले सरकारको सकारात्मक उपलब्धिमाथि प्रश्न उठ्ने अवस्था सिर्जना गर्न सक्ने भन्दै सच्याउन सुझाव दिएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका स्वकीय सचिवलाई प्रकृति संरक्षण कोष मा नियुक्त गर्ने तथा गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। अर्याल पनि गुल्मी जिल्लाकै भएको उल्लेख गर्दै ढकालले उक्त निर्णयले बहस जन्माएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। उनका अनुसार ठूला व्यक्तिबाट पनि कहिलेकाहीँ त्रुटि हुन सक्छ, तर त्यसलाई स्वीकारेर सुधार गर्ने उदारता देखाउनु नै नेतृत्वको विशेषता हो।
ढकालले अनुभव र विज्ञता नभएको व्यक्तिलाई महत्वपूर्ण संस्थाको जिम्मेवारी दिनु उचित नहुने टिप्पणी पनि गरेका छन्। उनले केवल स्वकीय सचिव भएको आधारमा प्रकृति संरक्षण कोषजस्तो संस्थाको नेतृत्व दिनु उपयुक्त नदेखिने बताएका छन्।
साथै, उनले देशमा नातावाद र कृपावाद अन्त्य हुनुपर्ने उल्लेख गर्दै सरकारबाट पारदर्शिता र योग्यतामा आधारित नियुक्तिको अपेक्षा व्यक्त गरेका छन्।




