काठमाडौं । नयाँ सरकार गठनको तयारी भइरहेका बेला प्रधानमन्त्री कार्कीले आगामी नेतृत्वलाई सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न सुझाव दिएकी छन्। उनका अनुसार देशको सबैभन्दा ठूलो चुनौती युवालाई रोजगारीको अवसर सिर्जना गर्नु र राज्यप्रति विश्वास पुनःस्थापित गर्नु हो। प्रधानमन्त्री पदबाट बाहिरिएपछि भने उनी पुनः आफ्नो निजी जीवनमा फर्किने बताउँछिन्। थप राजनीतिक जिम्मेवारी लिने चाहना नरहेको संकेत गर्दै उनले आफूले सम्हालेको जिम्मेवारी पूरा भएकोमा सन्तुष्टि व्यक्त गरेकी छन्। उनले अन्त्यमा देशको राजनीतिक स्थायित्व, आर्थिक सुधार र सामाजिक सद्भाव कायम राख्दै लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालको मुख्य जिम्मेवारी पूरा भएको बताएकी छन्। मुलुक राजनीतिक अनिश्चितता र तनावपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला शान्तिपूर्ण निर्वाचन गराउन सफल भएकोमा उनले सन्तोष व्यक्त गरेकी छन्। फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई परिणाम सार्वजनिक भइसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले आफूलाई दिइएको जिम्मेवारी समयमै पूरा गर्न सकेको भन्दै राहतको अनुभूति भएको बताइन् । उनका अनुसार सरकार गठन हुँदा परिस्थिति निकै जटिल थियो। जेनजी आन्दोलनपछि राजनीतिक वातावरण अस्थिर बनेको थियो भने सरकारप्रति विश्वास पनि कम थियो। त्यसमाथि सीमित समयभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती थपिएको थियो। प्रधानमन्त्री कार्कीले सुरुवाती दिनहरूमा धेरै अविश्वास र आलोचना झेल्नुपरेको स्मरण गरिन्। विभिन्न राजनीतिक दल तथा आन्दोलनरत समूहबाट सरकारको क्षमता माथि प्रश्न उठाइए पनि मन्त्रिपरिषद्का सदस्यहरूको सहकार्य र प्रशासनिक संयन्त्रको सहयोगले लक्ष्य पूरा गर्न सम्भव भएको उनको भनाइ छ।
उनले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्। विशेषगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयले सुरक्षा व्यवस्था प्रभावकारी बनेको उनले बताइन्। निर्वाचनको तयारीका क्रममा सरकारले प्रमुख राजनीतिक दलहरूसँग निरन्तर संवाद र सहकार्य गरेको पनि उनले स्पष्ट पारिन्। विभिन्न विचार र माग राख्ने समूहहरूबीच सन्तुलन कायम गर्दै निर्वाचनको वातावरण बनाउन निरन्तर प्रयास गरिएको उनको भनाइ छ। कार्कीले निर्वाचन परिणामलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक परिणामका रूपमा लिनुपर्ने बताउँदै नयाँ राजनीतिक शक्तिको उदयलाई पनि जनताको परिवर्तन चाहनासँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरिन्। उनले पुराना दलहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने र नयाँ शक्तिले जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्नुपर्ने सुझाव दिइन्।
सरकारले आफ्नो कार्यकालमा सुशासन र मितव्ययितालाई प्राथमिकता दिएको दाबी पनि उनले गरिन्। अनावश्यक खर्च कटौती, सरकारी निकायमा नियुक्ति र बढुवामा पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणका प्रयास गरिएको उनले बताइन्। भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित आयोगले बुझाएको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिइन्।




