देश

२० जना मानुपातिक सांसदको नाम आयोगमा पठाउने कांग्रेसको निर्णय, बहुमत महिला प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट चयन हुने २० जना सांसदको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट विभिन्न समावेशी समूहका प्रतिनिधि छनोट गरी आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाति र खस–आर्य समुदायबाट ६–६ जना, थारू, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एक–एक जना गरी पाँच जनाको नाम पठाइनेछ। साथै समावेशी मापदण्ड मिलाएर थप तीन जनाको नाम पनि सूचीमा समेटिने उनले जानकारी दिए।

कांग्रेसले समानुपातिक सूचीमा लैंगिक समावेशितालाई प्राथमिकता दिँदै कम्तीमा १५ जना महिलाको नाम अनिवार्य रूपमा पठाउने निर्णय गरेको छ। निर्वाचन आयोगले समानुपातिक मतका आधारमा दलहरूले पाउने सिट संख्या निर्धारण गरी त्यसअनुसार नाम सिफारिस गर्न निर्देशन दिएको थियो। कांग्रेसले आयोगमा बुझाइने नामहरू आयोगले नै औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।

प्रवक्ता चालिसेका अनुसार आगामी दिनमा बस्ने केन्द्रीय समिति बैठकले हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा गर्नेछ। सो बैठकपछि पार्टीले निर्वाचन परिणाम र भावी रणनीतिबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *