काठमाडौं । सम्भावित नयाँ सरकार गठनको तयारी भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भावी मन्त्रिपरिषद्को संरचना र प्रमुख मन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा व्यापक छलफल सुरु भएको छ। पार्टीभित्र अर्थ, गृह र परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालयका लागि विभिन्न नेताहरूको नाम चर्चामा आएको छ। रास्वपा नेतृत्व निकट स्रोतका अनुसार भावी प्रधानमन्त्रीका रूपमा हेरिएका वरिष्ठ नेता बालेन शाह यतिबेला क्याबिनेटको आकार, मन्त्रालय पुनर्संरचना र परिणाममुखी टिम बनाउने विषयमा केन्द्रित छन्। चुनावी अभियानका क्रममा उनले दक्ष र विषयविज्ञलाई समेटेर काम गर्ने सरकार बनाउने संकेत दिएका थिए। प्रारम्भिक चरणमा संसदबाहिरका विज्ञलाई समेत मन्त्री बनाउने विकल्पबारे छलफल भए पनि वर्तमान संवैधानिक व्यवस्था अनुसार गैरसांसद मन्त्री लामो समय पदमा रहन नसक्ने भएकाले अन्ततः सांसदहरूमध्यबाटै मन्त्री छनोट गर्ने तयारी भएको बताइएको छ।
अर्थ मन्त्रालयको नेतृत्व कसले लिने भन्ने विषयमा विशेष चर्चा भइरहेको छ। उपसभापति डा. स्वर्णिम वाग्ले यसका प्रमुख दाबेदार मानिएका छन्। पार्टी सभापति रवि लामिछानेले सार्वजनिक कार्यक्रममै वाग्लेलाई आगामी बजेट तयारी गर्न संकेत दिएपछि उनलाई सम्भावित अर्थमन्त्रीका रूपमा हेरिएको छ।यद्यपि प्युठानबाट निर्वाचित सांसद सुशान्त वैदिकको नाम पनि समानान्तर रूपमा चर्चामा आएको छ। आर्थिक नीति र अन्तर्राष्ट्रिय अध्ययनको पृष्ठभूमि भएका वैदिकलाई केही नेताहरूले टेक्नोक्र्याटिक विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्।
गृह मन्त्रालयका लागि पनि दुई नाम प्रमुख रूपमा अगाडि आएका छन्। सभापति लामिछानेको झुकाव डोलप्रसाद (डीपी) अर्यालतर्फ रहेको बताइन्छ। यसअघि श्रम मन्त्रालय सम्हालिसकेका अर्याललाई प्रशासनिक अनुभवको आधारमा गृहको जिम्मेवारी दिन सकिने चर्चा छ। तर अर्कोतर्फ बालेन निकट मानिएका सुनिल लम्सालको नाम पनि गृह मन्त्रालयका लागि अघि आएको छ। काठमाडौँ महानगरमा बालेनसँग नजिक रहेर काम गरेका लम्साललाई विश्वसनीय टिम सदस्यका रूपमा हेरिने भएकाले यो मन्त्रालयमा उनको सम्भावना पनि चर्चा भइरहेको छ।
यदि गृह मन्त्रालय अर्यालले पाउने अवस्था आयो भने लम्साललाई भौतिक पूर्वाधार मन्त्रालय दिने विकल्पबारे पनि छलफल भइरहेको स्रोतहरूले बताएका छन्। परराष्ट्र मन्त्रालयका लागि रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालको नाममा पार्टीभित्र लगभग सहमति बनेको बताइन्छ। त्यसैगरी काठमाडौं-५ बाट निर्वाचित सस्मित पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारी दिन सकिने सम्भावनाबारे पनि चर्चा चलिरहेको छ।स्वास्थ्य मन्त्रालयका लागि डा. लेखजंग थापा र तोसिमा कार्कीको नाम चर्चामा रहेको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि इन्दिरा राना मगर उपयुक्त हुनसक्ने धारणा पार्टीभित्र देखिएको छ। यसैगरी चितवन–३ बाट निर्वाचित सोविता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन सकिने सम्भावना पनि नेताहरूले औंल्याएका छन्।
रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा संघीय मन्त्रालयको संख्या घटाउने प्रतिबद्धता जनाएकाले क्याबिनेट सानो बनाउने तयारी भइरहेको बताइन्छ। अहिले २२ मन्त्रालय रहेको संरचनालाई घटाएर करिब १५ मन्त्रीको क्याबिनेट बनाउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ। यसबीच काठमाडौँ महानगरमा बालेनसँग काम गरेका केही सांसदलाई पनि मन्त्रीको रूपमा प्राथमिकता दिने सम्भावना रहेको चर्चा छ। उनीहरूको कार्यक्षमता र अनुभवलाई आधार बनाएर टिम बनाउने रणनीति बालेनको रहेको निकट नेताहरूको भनाइ छ। यद्यपि अहिले चर्चामा आएका नामहरू अन्तिम निर्णय नभएको र मन्त्रिपरिषद् गठनको समयसम्म फेरबदल हुन सक्ने बताइएको छ। अन्ततः क्याबिनेटको अन्तिम स्वरूप प्रधानमन्त्रीको निर्णयमा निर्भर रहनेछ।




