देश

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विभिन्न युवा समूहहरू सडकमा उत्रिएका छन्। रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट, मोनिका निरौला नेतृत्वको जेनजी मुभमेन्ट अलायन्ससहितका समूहका युवाहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन्। उनीहरूले आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।

प्रदर्शनमा सहभागी युवाहरूले ‘कार्की आयोगको प्रतिवेदन खोइरु’, ‘नो मोर सेक्रेट्स’, ‘कलमले लेखेको सत्यलाई सत्ताको कैँचीले नकाट’, ‘रिलिज दि रिपोर्ट, रिभिल दि टुथ’ जस्ता नारासहित सत्य बाहिर ल्याउन माग गरेका थिए। साथै उनीहरूले ‘हामी जान्न चाहन्छौँ, कसले चलायो गोलीरु कसले गर्यो विद्यार्थीको हत्यारु’ भन्ने प्रश्न पनि उठाएका छन्। भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगले तीन पटक म्याद थप्दै अनुसन्धान गरी प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदन फागुन २४ गते आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको बताइएको छ।

तर प्रतिवेदन बुझाएको लामो समय बित्दा पनि सरकारले सार्वजनिक नगरेपछि नागरिक तहमा प्रश्न उठ्न थालेको छ। पछिल्लो समय प्रतिवेदन सार्वजनिक नगरी कार्यान्वयनतर्फ लैजाने तयारी भइरहेको चर्चा चलेपछि युवाहरू थप आक्रोशित बनेका हुन्। प्रदर्शनकारी युवाहरूले घटनाको सत्य बाहिर ल्याउन प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार जनताको सरोकार जोडिएको विषयमा सरकारले पारदर्शिता अपनाउनुपर्ने हुन्छ।
युवाहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर मात्रै घटनाबारे स्पष्टता दिन सकिने भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *