राजनीति

समानुपातिक सांसद चयनमा कांग्रेसको कसरत, सानेपामा कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिक सांसद छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजेबाट बैठक प्रारम्भ भएको हो। बैठकको मुख्य एजेन्डा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट प्रतिनिधिसभाका लागि २० जना सांसद चयन गर्नु रहेको छ। बैठकबाट छनोट भएका उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा पठाइनेछ।

कांग्रेसले समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी गरेको छ। स्रोतका अनुसार खस–आर्य र आदिवासी जनजाति समूहबाट ६–६ जना, मधेसी र दलित समुदायबाट ३–३ जना चयन गरिनेछ। यसैगरी थारू र मुस्लिम समुदायबाट एक–एक जना तथा पिछडिएको क्षेत्रबाट एक जना सांसद छनोट गरिने व्यवस्था गरिएको छ।

पार्टीभित्र समानुपातिक सांसद चयनलाई लिएर विभिन्न समूह र नेताहरूबीच आन्तरिक छलफल चलिरहेको छ। बन्दसूचीमा रहेका उम्मेदवारहरूको योग्यता, क्षेत्रीय प्रतिनिधित्व र समावेशी मापदण्डलाई आधार बनाएर अन्तिम निर्णय गरिने कांग्रेस स्रोतले जनाएको छ।

हालै सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। समानुपातिक मतका आधारमा पार्टीले प्रतिनिधिसभामा थप २० सिट प्राप्त गरेको छ। अब कार्यसम्पादन समितिको निर्णयपछि कांग्रेसबाट प्रतिनिधिसभामा जाने समानुपातिक सांसदहरूको अन्तिम सूची निर्वाचन आयोगमा बुझाइनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *