देश

पराजयपछि कांग्रेसको आत्मसमीक्षा, चुनावी प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसले चुनावी समीक्षा सुरु गरेको छ। पार्टीले मातहतका सबै समिति तथा उम्मेदवारलाई निर्वाचन परिणामको समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्राप्त नतिजाको विश्लेषण, पराजयका कारण, चुनावी अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषय समेटेर विस्तृत प्रतिवेदन पठाउन कांग्रेसले परिपत्र गरेको हो।

पार्टीका महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा अनुशासन समितिसम्बन्धी विवरणसहित निर्वाचन समीक्षा प्रतिवेदन चैत ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ।

कांग्रेसले पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुँदै पनि निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै यसलाई आत्मसमीक्षाको विषय बनेको जनाएको छ।

यसैगरी नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (३) बमोजिम गठन भएका जिल्ला अनुशासन समिति तथा उपधारा (५) बमोजिम गठन भएका प्रदेश अनुशासन समितिले संयोजक र सदस्यहरूको नाम तथा सम्पर्क नम्बर यथाशीघ्र केन्द्रीय कार्यालयमा पठाउन पनि अनुरोध गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *