काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तर्फबाट समानुपातिक सांसद बन्ने उम्मेदवारहरूको नामावली आजै निर्वाचन आयोगमा बुझाउने तयारी गरेको जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाले आइतबार बिहान केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै समानुपातिक सूचीलाई प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार उम्मेदवारहरूको नाम टुंग्याउन पार्टीको बैठक बस्नेछ र सोही बैठकपछि सूची आयोगमा बुझाइनेछ।
झाले अहिले मुख्य काम समानुपातिकतर्फ चयन भएका उम्मेदवारहरूको अन्तिम नामावली तयार पार्ने भएकाले त्यसलाई आजै टुंगो लगाइने बताए। नयाँ सरकार गठनबारे भने अझै केही प्रक्रियाहरू बाँकी रहेकाले समय लाग्न सक्ने उनको भनाइ छ। संसद सचिवालयको तयारी, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा पठाउने काम तथा समानुपातिक उम्मेदवारलाई प्रमाणपत्र वितरण जस्ता कार्य बाँकी रहेकाले तत्काल सरकार बन्ने अवस्था नभएको उनले स्पष्ट पारे।
प्रवक्ता झाले यी सबै प्रक्रियाहरू पूरा हुन अझै करिब १० दिन जति लाग्न सक्ने अनुमान व्यक्त गरे। उनका अनुसार विभिन्न निकायको जिम्मेवारीसँग सम्बन्धित काम भएकाले निश्चित समय यकिन गरेर भन्न भने अहिले नै सम्भव छैन।




