काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ भित्र निर्वाचितको प्रमाणपत्र पाउनेछन्। निर्वाचन आयोगको पत्राचार अनुसार छ वटा राजनीतिक दलबाट निर्वाचित हुने सदस्यहरूको नामावली आइतबारसम्म आयोगमा पठाउनुपर्नेछ। कार्यतालिकाअनुसार सबै काम सम्पन्न भएमा चैत ५ भित्र प्रतिनिधि सभाका २७५ सदस्य निर्वाचित हुनेछन्।
प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले यसअघिको परिणाम बदर गर्ने आदेश नगरेमा निर्वाचन परिणाम पूर्ण हुनेछ। आयोगको तयारी अनुसार चैत ५ भित्रै अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइने छ।
आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश गरेसँगै उक्त जानकारी सङ्घीय संसद्मा पठाइनेछ। परिणाम संसद् पुग्ने बित्तिकै शपथ तयारी र सरकार गठनको प्रक्रिया समानान्तर रूपमा अघि बढ्नेछ। संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य नियमावली अनुसार ज्येष्ठ सदस्यमार्फत शपथसम्बन्धी प्रक्रिया अगाडि बढाउनेछ। ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि सबै सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइने व्यवस्था छ। शपथपछि दलहरूले संसदीय दलको नेता चयन गर्नेछन्।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत प्राप्त गरेकाले नेपालको संविधानको धारा ७६ (१) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ। दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ।
निर्वाचन आयोगले चैत ५ भित्रै अन्तिम प्रतिवेदन पेश गरेमा ढिलासमेत चैतको दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रिया पूर्ण हुनेछ।
अन्तिम परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री नियुक्ति र संसद् अधिवेशन आह्वानको समयसीमासमेत सुरु हुनेछ। संविधान अनुसार अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ भने प्रधानमन्त्री नियुक्तिका लागि ३५ दिनको समय सुरु हुनेछ।
संविधानको धारा ७६ (१) अनुसार बनेको सरकारले विश्वासको मत लिनु अनिवार्य छैन। तर, दुई वा बढी दलको गठबन्धन वा कुनै पनि दलको एकल बहुमत नआएमा नियुक्त हुने सबैभन्दा ठूलो दलको नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानको धारा ७६ (२), (३) र (५) मा उल्लेख गरिएको छ।




