काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टीभित्र फैलाइँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधि बन्द गर्न आग्रह गर्दै पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताएका छन्।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेको अवस्थामा एक–अर्काप्रति नकारात्मक टिप्पणी तथा घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय भएको उल्लेख गरेका छन्।
पछिल्लो समय पार्टीका माथिल्लो तहका केही नेताबाट आफू लगायत केही नेताविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना फैलाउने काम भइरहेको उनको गुनासो छ।
भट्टराईले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आइडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका छन्।
उनले पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपमा रूपान्तरण गर्नु र गुमेको जनविश्वास पुनः आर्जन गर्नु अहिलेको प्राथमिक कार्यभार भएको बताएका छन्।
उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कका आधारमा छलफल र बहस गर्नुपर्ने उनले उल्लेख गरेका छन्। भट्टराईले पार्टी पंक्तिबाटै मिसइन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पिच अन्त्य हुन जरुरी भएको पनि बताएका छन्।




