काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेपाली कांग्रेसले पार्टीभित्र समीक्षा र अनुशासनसम्बन्धी प्रक्रिया अघि बढाएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीमाथि प्रारम्भिक अध्ययन सुरु गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न तहबाट प्राप्त उजुरीहरूको अध्ययन गर्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकले संगठनात्मक कामलाई व्यवस्थित बनाउन समितिका सहसचिव दिनेश थापा मगरलाई सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति कार्यविधि–२०८२’ को उपदफा १।१ अनुसार उनलाई उक्त पदमा नियुक्त गरिएको समितिले जनाएको छ।
यसैबीच, प्रतिनिधिसभा निर्वाचनको परिणाम र त्यसले पार्टीमा पारेको प्रभावबारे व्यापक छलफल गर्न कांग्रेसले चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन परिणामको समग्र विश्लेषण गर्न विभिन्न जिल्लाबाट प्रतिवेदन माग गरिएको छ। जिल्लाबाट प्राप्त हुने विवरणका आधारमा केन्द्रीय समितिमा विस्तृत समीक्षा गरिने उनले बताए।
गत प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक भने दोस्रो स्थानमा खुम्चिएको छ। हालसम्मको नतिजाअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट गरी कुल ३८ सिट प्राप्त गरेको छ। निर्वाचन परिणामको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने उद्देश्यले पार्टीले केन्द्रीय समिति बैठकमार्फत गम्भीर छलफल गर्ने तयारी गरेको जनाएको छ।




