देश

निर्वाचन प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन आयोगले प्रतिवेदन बुझाएलगत्तै पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाइने बित्तिकै प्रधानमन्त्री कार्कीले औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम तय गरिएको छ। राजीनामा दिनुअघि अन्तरिम सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ। उक्त बैठकमा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवाद दिने प्रस्ताव पारित गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री कार्कीले पद त्यागे पनि नयाँ सरकार गठन नभएसम्म भने उहाँले कामचलाउ सरकारको नेतृत्व सम्हालिरहने व्यवस्था रहनेछ। यसैबीच अन्तिम मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा एक जना सदस्य मनोनयनका लागि सिफारिस गर्ने सम्भावना पनि रहेको बताइएको छ। उक्त सिफारिसका लागि हालका अर्थमन्त्री रामेश्वर खनालको नाम चर्चामा रहेको स्रोतको भनाइ छ। राजनीतिक वृत्तमा भने उनलाई आगामी सम्भावित बालेन नेतृत्वको सरकारमा पुनः अर्थमन्त्री बनाउने रणनीतिअनुसार राष्ट्रिय सभामा लैजाने तयारी भइरहेको चर्चा समेत चलिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *