देश

ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, नेता कार्यकर्ताको सहभागिता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि कार्यक्रममा केपी शर्मा ओलीले मुखाग्नि दिएका थिए। ९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान करिब ४ बजे अस्पताल पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ। विगत केही महिनादेखि उनी सोही अस्पतालमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका थिए।

अन्त्येष्टिअघि अस्पताल परिसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, एमालेका केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ता, परिवारका सदस्य र आफन्तले दिवङ्गत मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। मोहनप्रसाद ओली केही समयदेखि भक्तपुरको गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। गत भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा झापास्थित उनको घरमा आगजनी भएपछि उनी त्यहाँ नफर्किएको जनाइएको छ।

अन्त्येष्टि कार्यक्रममा एमालेका सचिव महेश बस्नेत, भानुभक्त ढकाल लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा,नेकपा संयोजक प्रचण्ड,रास्वपा सांसद जगदिश खरेल लगायतका नेता तथा कार्यकर्ताहरुले अन्त्यष्टि स्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । समग्र रुपमा कांग्रेस एमालेका नेताहरु सो अन्त्यष्टिमा पुगेका थिए । उनीहरुले पार्टीको र व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । दिवङ्गत मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनका जेठा छोरा केपी शर्मा ओली र कान्छा छोरा जयप्रसाद ओली हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *