काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई आफ्नो चुनावी खर्चको विवरण समयमै सार्वजनिक गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तोकिएको ढाँचामा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिस्पर्धा गरेका उम्मेदवारले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिस्पर्धा गरेका राजनीतिक दलले भने उक्त विवरण निर्वाचन आयोगमै पेश गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन परिणाम घोषणा भएको मितिबाट ३५ दिनभित्र खर्चको विवरण सार्वजनिक गरी प्रमाणसहित आयोग वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्धारित समयसीमा भित्र खर्च विवरण सार्वजनिक गर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेका छन्।
यदि कुनै दल वा उम्मेदवारले चुनावी खर्चको विवरण नबुझाए वा सार्वजनिक नगरेमा निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ अनुसार कानुनी कारबाही गरिने आयोगले चेतावनी दिएको छ।




