काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपाल द्रुत विकासको मार्गमा अघि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन्। भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रमा सम्बोधन गर्दै भट्टराईले नेपालको भविष्य युवा शक्ति र प्रविधिमा निर्भर हुने बताएका हुन्। उनले नेपाललाई भारत र चीनबीच ‘च्यापिएको’ देश नभई जीवन्त पुलको रूपमा अगाडि बढाउने भूमिका निर्वाह गर्नुपर्ने औंल्याए। बदलिँदो भूराजनीति र चौथो औद्योगिक क्रान्ति, कृत्रिम बौद्धिकता र प्रविधिको विकाससँगै नेपालको परराष्ट्र नीतिलाई परिमार्जन गर्नुपर्ने आवश्यकता उनले उल्लेख गरे।
भट्टराईले भने, “नेपाल अब विकासको पिँधमा नरहने छ, विश्वसँगै द्रुत गतिमा अघि बढ्नेछ। नयाँ पुस्ताले पुरानो राजनीतिक प्रणाली र परम्परागत नेतृत्वविरुद्ध विद्रोह गर्दै देशको नेतृत्व सम्हाल्ने तयारी गरेको छ। म यसमा निकै गर्वित छु।” उनले परम्परागत प्रतिनिधिमूलक लोकतन्त्रको सीमितताप्रति औंल्याउँदै अब अनुगमनमुखी, समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यास आवश्यक भएको बताए। उदारवादी, समाजवादी वा रुढीवादी लोकतन्त्रका परम्परागत भाष्यहरू आधुनिक चुनौती समाधान गर्न अपर्याप्त भएको उनको दाबी छ।
सत्रमा स्विडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड र अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मौरिसनसँगको संवादमा भट्टराईले दक्षिण एशियामा गरिबी निवारण र समग्र क्षेत्रको रूपान्तरणमा भारतले नेतृत्व लिनुपर्नेमा जोड दिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘वसुधैव कुटुम्बकम्’ अवधारणालाई उद्धृत गर्दै प्रविधि र सूचना प्रवाहले विश्वलाई साँघुरो बनाएको उल्लेख गरे। भट्टराईको दृष्टिकोणअनुसार, नेपालको द्रुत विकास युवामा विश्वास, प्रविधि अपनत्व र परराष्ट्र नीतिको सुधारमा निर्भर रहन्छ। यस सत्रमा विश्व शक्ति सन्तुलन, इन्डो(प्यासिफिक क्षेत्रको महत्त्व र प्रविधिले ल्याएको अवसर तथा चुनौतीबारे तीनै पूर्वप्रधानमन्त्रीहरूले मन्थन गरेका थिए।
यसरी भट्टराईले नेपालको भविष्य युवा नेतृत्व र नवप्रवर्तनमा आधारित रहने विश्वास व्यक्त गर्दै विकासको नयाँ दृष्टिकोणको संकेत गरेका छन्।




