देश

१६ वर्ष सेवा दिएको बुद्ध एयरको एटीआर–७२ जहाज अवकाशमा

काठमाडौं । बुद्ध एयरले १६ वर्षदेखि व्यावसायिक उडानमा प्रयोग हुँदै आएको एटीआर–७२ जहाजलाई औपचारिक रूपमा सेवा निवृत्त गरेको छ। दर्ता नम्बर 9N-AJO रहेको उक्त जहाजले आफ्नो पूर्ण सञ्चालन अवधि पूरा गरेपछि कम्पनीले औपचारिक बिदाइ गरेको हो। सन् २०१० जुलाई २ देखि व्यावसायिक उडान सुरु गरेको उक्त जहाजले ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौंसम्म अन्तिम उडान भरेको थियो। आफ्नो सेवा अवधिभर जहाजले कुल २४ लाख ८२ हजार ७ सय ७२ यात्रु बोक्दै नेपालको आन्तरिक हवाई सेवामा उल्लेखनीय योगदान दिएको बुद्ध एयरले जनाएको छ।

एटीआर–७२ जहाजको अधिकतम सञ्चालन क्षमता करिब ७२ हजार उडान–अवतरण चक्र (साइकल) मानिन्छ। एक उडान र एक अवतरणलाई एउटा ‘साइकल’ मानिने व्यवस्था अनुसार उक्त जहाजले आफ्नो निर्धारित सेवा अवधि सफलतापूर्वक पूरा गरेको कम्पनीले जानकारी दिएको छ। जहाज बिदाइ कार्यक्रमका क्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले एटीआर–७२ ले नेपालमा हवाई यात्रालाई थप सुगम, किफायती र वातावरणमैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार यस जहाजले कम्पनीको सेवा विस्तार र बजार पहिचान बलियो बनाउन पनि योगदान पुर्‍याएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक टेकनाथ सिटौलाले बुद्ध एयरले हवाई सुरक्षाप्रति देखाएको प्रतिबद्धता र जहाजको उत्कृष्ट मर्मत–सम्भार व्यवस्थापनकै कारण उक्त विमानले सुरक्षित रूपमा आफ्नो सेवा अवधि पूरा गर्न सकेको बताए। त्यस्तै, एटीआर कम्पनीका वरिष्ठ उपाध्यक्ष स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै जहाजलाई सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने कम्पनीको प्राविधिक क्षमता प्रशंसनीय रहेको बताए।

यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई पनि १० सेप्टेम्बर २०२४ मा सेवा निवृत्त गरिसकेको थियो। हाल बुद्ध एयरले देशका विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गरिरहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ भारतका वाराणसी र कोलकातासम्म सेवा विस्तार गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *