काठमाडौं । राजधानी काठमाडौंमा खाना पकाउने ग्यासको अभाव चर्किएपछि उपभोक्ताहरू दैनिक जीवन चलाउन नै कठिनाइमा परेका छन्। विशेषगरी बालाजु औद्योगिक क्षेत्र आसपासका ग्यास डिपोहरूमा बिहानैदेखि खाली सिलिन्डर बोकेर लाइनमा बस्ने उपभोक्ताको भीड देखिन थालेको छ। सीमित मात्रामा खुलेका डिपोमा ग्यास पाउनेको संख्या न्यून हुँदा अधिकांश उपभोक्ता निराश भएर फर्किन बाध्य भएका छन्।
बिहीबार बिहान बालाजु क्षेत्रमा देखिएको दृश्यले राजधानीको आपूर्ति व्यवस्थापन कति कमजोर अवस्थामा छ भन्ने स्पष्ट संकेत दिएको छ। बिहानैदेखि सयौँ उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर लाइनमा बसेका थिए। कतिपयले घण्टौँ कुर्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् भने केही भाग्यमानी उपभोक्ताले मात्र भरिएको सिलिन्डर लिएर घर फर्कन सके।
सरकार र सम्बन्धित निकायहरूले भने यो संकटको कारण अन्तर्राष्ट्रिय परिस्थिति भएको दाबी गरेका छन्। मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच बढेको तनावका कारण खाडी क्षेत्रको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ प्रभावित भएको बताइन्छ। विश्वका धेरै पेट्रोलियम पदार्थ यही मार्ग हुँदै ढुवानी हुने भएकाले त्यहाँको अस्थिरताले आपूर्ति श्रृंखलामा समस्या उत्पन्न गरेको तर्क सरकारी निकायले अघि सारेका छन्।
तर विश्लेषकहरूका अनुसार विश्व संकटको प्रभाव देखिनु स्वाभाविक भए पनि नेपालमा देखिएको संकटको वास्तविक कारण कमजोर आपूर्ति व्यवस्थापन र दीर्घकालीन तयारीको अभाव हो। नेपाल पूर्ण रूपमा आयातमा निर्भर देश भए पनि आपूर्ति व्यवस्थापनका लागि पर्याप्त भण्डारण क्षमता, वैकल्पिक आपूर्ति रणनीति र संकट व्यवस्थापन योजना विकास गर्न नसक्दा हरेक अन्तर्राष्ट्रिय तनावको असर सिधै उपभोक्तामाथि पर्ने गरेको छ।
नेपालमा खाना पकाउने ग्यास भारत हुँदै आयात गरिन्छ। भारतमै आपूर्ति चाप बढेपछि त्यसको प्रभाव नेपालमा देखिएको बताइए पनि प्रश्न उठ्ने गरेको छ—किन नेपाल सधैँ यस्ता संकटका लागि तयार देखिँदैन रु किन दीर्घकालीन ऊर्जा सुरक्षाको नीति अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन रु
ग्यास अभावको समस्याले उपभोक्ताको दैनिकी मात्र प्रभावित भएको छैन, यसले राज्यको आपूर्ति व्यवस्थापन प्रणालीको कमजोरी पनि उजागर गरेको छ। लाइनमा उभिएका सर्वसाधारणको निराशा केवल ग्यास अभावको समस्या होइन, यो राज्यप्रति बढ्दो अविश्वासको संकेत पनि हो।
ऊर्जा संकट र आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी समाधान नगरेसम्म यस्ता दृश्यहरू काठमाडौंका सडकमा बारम्बार दोहोरिने निश्चित छ। विश्व राजनीतिक तनावलाई मात्र दोष दिँदै बस्ने हो भने समस्या अस्थायी रूपमा व्याख्या त हुन सक्छ, तर समाधान भने अझै टाढै रहनेछ।




