देश

ललितपुरका जनप्रतिनिधिको गगन थापालाई साथ, नेतृत्व कायम राख्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा सार्वजनिक समर्थन जनाएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा थापाको नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका हुन्।

बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमा ललितपुर महानगरपालिका, नगरपालिकाहरू तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूले कांग्रेसको संगठनलाई बलियो बनाउन तथा जटिल राजनीतिक चुनौती सामना गर्न गगन थापाको नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा कांग्रेसको ऐतिहासिक भूमिका, लोकतन्त्र र राष्ट्रियताको संरक्षण तथा समकालीन राजनीतिक चुनौतीसँग जुध्न सक्षम नेतृत्वको आवश्यकता औंल्याउँदै थापा नै त्यसका लागि उपयुक्त व्यक्तित्व भएको दाबी गरिएको छ।पछिल्लो समय सभापति पदबाट राजीनामा दिन सक्ने चर्चा चलिरहेका बेला जनप्रतिनिधिहरूले त्यसलाई अस्वीकार गर्दै पार्टीलाई सुदृढ बनाउन नेतृत्वको निरन्तरतामा जोड दिएका छन्।

गगन थापाको पक्षमा ऐक्यबद्धता जनाउने जनप्रतिनिधिहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन तथा महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन रहेका छन्। त्यसैगरी महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन तथा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले पनि सभापति थापालाई नेतृत्व कायम राख्दै पार्टीलाई मार्गदर्शन गर्न आग्रह गरेका छन्।

645911624_25925805890438042_4486310463728343475_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *